हामी भन्छौं, पर्याप्त छ: यदि हामीले अहिले नै काम गर्यौँ भने कुनै पनि बालबालिका भोक र कुपोषणबाट पीडित हुनेछैनन् ।

ENOUGH Campaign launch press release
Thursday, June 20, 2024

मितिः २०८१ जेठ १७ गते

प्रेस विज्ञप्ती

बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ENOUGH अभियान आज काठमाडौँमा एक कार्यक्रम गरेर  सुरुवात गरिएको छ । तीन दशक अघिसम्म पर्याप्त खाद्यान्न निर्यात गर्न सक्ने नेपालमा अझै पनि आफ्ना सबै जनतालाई स्वस्थ र पौष्टिक आहार उपलब्ध गराउन पर्याप्त स्रोतसाधन भए पनि त्यसको व्यवस्थापन नहुँदा, स्थानीय उत्पादनले प्राथमिकता नपाउँदा र जनचेतनाको अभावमा कुपोषणको डरलाग्दो तथ्याङ्क देखिन्छ । 

प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन सकेको छैन । यसैलाई हटाउन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सहकार्यमा तीन वर्षे अभियानको औपचारिक सुरुवात गरिएको हो । कार्यक्रममा बालबालिका, विभिन्न समुदायका प्रतिनिधि, सरकारी प्रतिनिधि, सरोकारवाला मन्त्रालयका पदाधिकारी, सांसदहरू, संवैधानीक आयोगका पदाधिकारी, दातृ निकाय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, पोषणविद्, पत्रकार र साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कुपोषण र यसले बालबालिकामा पारेको प्रभावको बारेमा बालबालिकाले नै सञ्चालन गरेको छलफल कार्यक्रम र कुपोषणको प्रभाव झल्कने चित्रकलाको प्रस्तुती कार्यक्रमको प्रमुख आकर्षणको रूपमा रहेको थियो । कार्यक्रमका प्रमुख अतिथीका रुपमा माननीय महिला, बाल बालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।

मन्त्री चौधरीलाई बालबालिकाहरूले कुपोषण अन्त्यका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा ७ बुँदे अपिल बुझाएका  थिए । बालबालिकाले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि मन्त्रालयगत रूपमा छलफल र समन्वय गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

बालबालिकामा हुने कुपोषण अन्त्यका लागि वर्ल्ड भिजन इन्टरनेशनलले गरेका कामको प्रभाव र नतिजा सकारात्मक भएको उल्लेख गर्दै मन्त्री चौधरीले तीनै तहका सरकार र सरोकारवाला निकाय कुपोषण अन्त्यका लागि एक जुट हुने हो भने अझ धेरै राम्रो नतिजा निकाल्न सकिनेमा जोड दिनुभयो ।

सरकारले दिवाखाजाका लागि विद्यार्थीलाई १५ रुपैयाँ पठाएको जानकारी गराउँदै यसमा स्थानीय सरकारले थपेर गुणस्तरीय खाजाको व्यवस्था गर्नका लागि सबै जनप्रतिनिधिसँग उहाँले अनुरोध गर्नुभयो ।

कम्जोर आर्थिक अवस्थाका बालबालिका कुपोषणको जोखिममा रहने भएका कारण यसपाली सरकारले ल्याएको बजेटले रैथाने खाने कुरामा जोड दिने भनेकाले पनि यसले कतै न कतै सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रोजलिन एच. गाब्रीयलले नेपालमा सन् २००१ देखि वल्र्ड भिजनले बालबालिको अधिकारको रक्षाका साथै पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले यो अभियानले प्राथमिक रूपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासहरूलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको बताउनुभयो । 

Photo ENOUGH Launch

दिगो विकास लक्ष्यको लक्ष्य नं २ हासिल गर्न देशको प्रतिबद्धता र त्यसलाई प्राप्त गर्न बहुक्षेत्रीय पोषण योजना–तेस्रो र १६ औँ आवधिक योजना जस्ता राष्ट्रिय प्राथमिकताहरूलाई यस अभियानले पूरा गर्नको लागि सहयोग गर्नेछ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) सँगको सहकार्यमा यो कार्यक्रम गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’ गाब्रीलले भन्नुभयो ।

बालबालिकाको हितमा काम गर्ने एक बाल–केन्द्रित संस्थाको रूपमा, वर्ल्ड भिजनले विभिन्न सरोकारवालाहरू र नेपाल सरकारका तीनै तहसँग मिलेर काम गर्दै आएको छ र नेपालमा बालबालिकाको हितमा योगदान पुर्याउदै आएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १.७ मिलियन अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता जनाएको छ । वर्ल्ड भिजन इन्टरनेशनलले विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२  देखि ENOUGH अभियानको सुरुवात गरेको छ, संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाटै यसको घोषणा भएको हो  ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले  भोकमरी र कुपोषण अन्त्यका लागि नेपालका सञ्चारमाध्यम र विषेश गरेर सामुदायिक रेडियोले ठूलो भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मर बहादुर थापाले बालबालिकामा अझैँ पनि कायमै रहेको कुपोषण अन्त्यका लागि समितिले सरोकारवाला निकायसँग निरन्तर संवाद र अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

इनफ अभियानले लिएका लक्ष्य पूरा गर्नका लागि सरकारी तथा गैरसरकारी निकायले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमा संसदको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले सरकारले कुपोषणविरुद्धको अभियान चलाए पनि प्रभावकारी हुन नसकेको र आगामी दिनमा यो इनफ अभियानले सरकारले लिएका लक्ष्यलाई पनि सहयोग पुग्ने धारणा राख्नुभयो ।

कुपोषणविरुद्धका भएका नीति तथा कानुन कार्यान्वयन भएका समस्या समाधानका लागि समितिले सक्रियताका साथ काम गर्ने उहाँको प्रतिबद्धता थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले इनफ अभियान सफल पार्नका लागि आयोग जहिल्यै साथमा रहने वाचा गर्नुभयो ।

विद्यालयमा पढ्ने बालबालिकामा पोषणको अवस्थाका बारेमा आयोगले अनुगमन सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।

बालबालिकालाई आश्रय दिएका कतिपय स्याहार केन्द्रबाट पनि गुणस्तरीय खानाको अभावका बारेमा गुनासो आएपछि अनुगमनको कामलाई तीव्रता दिइएको सचिव खरेलले भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले इनफ अभियानमा गैरसरकारी क्षेत्र साथमा रहेको धारणा राख्नुभयो ।

ENOUGH अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिनेछ । पर्याप्त तथा विशेष स्तनपानमा वृद्धि; बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्य; बालवालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्नेे विषयमा अभियान केन्द्रित हुनेछ । पोषणको बारेमा आम नागरिकलाई सूचना बाँड्ने र बानिव्यहोरामा परिवर्तन गर्नको लागि निरन्तर सञ्चार प्रवाह गरिनेछ । 

वल्र्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १०.७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्नेछ ।  नेपालका सबै बालबालिकाको पोषणको अवस्थामा सुधार गर्न हामी बालवालिका, समुदाय, सञ्चार क्षेत्र र सरकारसँग मिलेर काम गर्नेछौँ । बालबालिकाको भोक र कुपोषणको लागि ENOUGH  भन्न र सबैको लागि पौष्टिक र सकारात्मक भविष्य सिर्जना गर्ने उद्देश्य पूरा गर्नका लागि सँगै काम गर्न हामीसँग यो अभियानमा जोडिनुुहोस् ।